श्रावण ९ गते २०७८

महेश बस्नेतको चेतावनी : एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आगो बाल्छौं

काठमाडौँ, ९ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्‍नेतले यदि सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएमा देशभर आगो बाल्ने चेतावनी दिएका छन् । युथ फोर्सको भ्याली कमाण्ड गठन कार्यक्रमलाई शनिबार सम्बोधनका क्रममा राष्ट्रिय युवा संघका इन्चार्ज बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्। 

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा त्यसलाई फेल गराइयो’, उनले भने, ‘अहिले फेरि एमाले नै फुटाउन अध्यादेश ल्याउन खोजियो भने देशभर आगो बल्छ ।’

नेता बस्नेतले युथ फोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय प्रश्न उठेको बताउँदै धेरै आशंका बोकिरहन आवश्यक नरहेको पनि बताएका छन्। बस्नेतले युथ फोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने तर शत्रुहरूलाई मुठीले नै प्रतिवाद गरेर तह लगाउने बताए।