असार १६ गते २०७८

भारी वर्षाले नदीहरुमा बाढीको जोखिम उच्च, सतर्क रहन आग्रह

काठमाडौँ, १६ असार । देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेको र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ।

अहिले बिहानको मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।

दिउँसोसम्म यी नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्त्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

यस्तै पश्चिम राप्ती र बबई नदीको बहाव सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ।