माघ ११ गते २०७९

कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गर्न सुझाव

कमल पौडेल अथक
पोखरा १०, माघ
कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गरिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई कास्कीद्धारा आयोजित प्रदेशस्तरीय दोश्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
प्रदेश कृषि सचिव सहदेवप्रसाद हुमागाइँले बितरण गरिएको वजेट सही काममा उपयोग हुनु पर्ने वताए । उनले कृषकहरु लाभान्वीत हुने कार्यक्रममा वढी भन्दा वढी लगानी गर्नु पर्ने र त्यसले उत्पादन पनि वढ्नु पर्ने तर्क गरे ।
सो अवसरमा वोल्दै प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका निमित्त निर्देशक बासुदेब रेग्मीले कृषिमा दिने अनुदान अनुसारको प्रतिफल हात पार्न कठिन भएको वताए । उनले अनुदान छिरलिने तर उत्पादन नहुने र आयात मात्र गर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने वताए ।

परियोजना इकाई कार्यालय नवलपरासी पूर्वका कार्यालय प्रमुख विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना इकाइ खुमलटारका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठ, परियोजनाका कृषि अधिकृत निशा कँडेल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख नवराज वराल, पोखरा महानगर कृषि तथा पशु शाखा प्रमुख मनोहर कडरिया, कृषि विज्ञ शशी अधिकारी, सामाजिक विज्ञ गोविन्द श्रेष्ठ लगायतले वोलेका थिए ।