वैशाख २० गते २०७८

उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं,२० वैशाख । उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।

मंगलबार फेरि बैठक बसेर यसबारे निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। यसअघि उपत्यकामा प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा एकसाताका लागि निषेधाज्ञा गरेका थिए। तर सरकारले भने उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। प्रमुख जिल्ला अधिकारीहरुले त्यसअघि नै एकसाताका लागि निषेधाज्ञा जारी गरेकाले फेरि त्यसलाई परिमार्जन गर्दै लम्ब्याउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले पनि सोमबार सम्बोधनका क्रममा निषेधाज्ञालाई थप कडाइ गर्ने घोषणा गरेका छन्। सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरिसकेकाले थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई सहज भएको हो। उपत्यकामा १६ गते बिहानदेखि निषेधाज्ञा जारी छ। कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा थप कडा र लम्बिने देखिएको छ।