वैशाख ६ गते २०७८

मास्क अनिवार्य, वैशाख मसान्तसम्म विद्यालय बन्द , होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने

काठमाडौं,०६ बैशाख । सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय छन् ।

कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने बताए ।

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पनि संचालन अनुमति दिएको छ । होटलमा बसेर खान नपाइने र डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ । मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन पनि सरकारले निर्देशन दिएको छ ।

लामो दूरीको यातायातमा बीच बाटोमा यात्रु चढाउन नपाइने र यात्रुको बिबरण अनिवार्य जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अनिवार्य उपलब्ध गराउनुपर्ने मापदण्ड तय गरिएको छ ।मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।