वैशाख ६ गते २०७८

कम्युनिष्टका कारण संसदीय व्यवस्था धरापमा


कमल पौडेल अथक
पोखरा, ६ वैशाख

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टका कारण संसदीय व्यवस्था धरापमा परेको टिप्पणी गरेकी छन् ।
नेपाल प्रेस युनियन कास्कीद्धारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर कम्युनिष्टहरुले नेपालको राजनीतिलाई धरापमा पार्न खोजेको टिप्पणी गरेकी हुन् ।
उनले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली सरकार विस्थापित गरेर छिट्टै काँग्रेसले सरकारको नेतृत्व लिने बताइन् ।
प्रदेशहरुमा देखिएको कम्युनिष्टको दोधारे चरित्रले संसदीय पद्दति प्रणालीमाथि नै प्रश्नचिन्ह उठेको अवस्थामा व्यवस्था बलियो बनाउन काँग्रेसको नेतृत्व आवश्यकता रहेको बताइन् । पार्टीको महाधिवेशनको क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेकी उनले महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गरिन् ।
युनियन अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले पनि आफ्ना भनाई राखेका थिए ।