चैत्र २० गते २०७७

अनमोल ७५ लाख पारिश्रमिकको चर्चामा

काठमाडौं,२० चैत ।

नेपाली फिल्मका अभिनेता अनमोल केसीको यति बेला निकै चर्चा चलेको छ ।
नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । किनकि, त्यसअघि यति मोटो पारिश्रमिक नेपाली कलाकारहरुका लागि दिवा सपनाझैँ थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई एक टिमले ७५ लाख पारिश्रमिकसहित फिल्मको प्रस्ताव गरेको चर्चा छ ।

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । फिल्मको टाइटल क्यारेक्टरमा अनमोललाई ७५ लाखमा प्रस्ताव गरिएको छ ।
अनमोलले आफूलाई ७५ लाख अफर भएको र यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रवल रहेको बताएका छन् ।