फागुन २८ गते २०७७

रगत जम्ने विवरण आएपछि थाइल्याण्डमा पनि आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रद्द

काठमाडौं, २८ फागुन । थाइल्याण्डले पनि कोरोना भाइरसविरुद्धको अक्सफर्ड–आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम स्थगित गरेको छ।

मानिसहरुमा रगत जम्ने खतरा बढाएको विवरण सार्वजनिक भएपछि थाइल्याण्डले पनि यो खोप लगाउने कार्यक्रम स्थगित गरेको हो।थाइल्याण्डका प्रधानमन्त्रीले खोप लगाउने कार्यको आज (शुक्रबार) उद्घाटन गर्ने कार्यक्रम थियो। तर खोप लगाएका मानिसमा रगत जम्ने समस्या देखिएको भन्दै हाललाई खोप कार्यक्रम स्थगित गरिएको हो।यसअघि डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेका छन्।

हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ।तर युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको जनाएको छ।खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।

तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्’, युरोपेली मेडिसिन्स एजेन्सीले भनेको छ।