फागुन २२ गते २०७७

मेलम्ची खानेपानी सुन्दरीजलमा,काठमाडौंवासीले चाँडै पानी पिउन पाउने

काठमाडौं, २२ फागुन।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

यसअघि गत असार २९ गते पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो, जुन सफल भएन । हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर पानी बाहिर निस्कियो । सो दुर्घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको बेपत्ता भएका थिए ।त्यसपछि चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण गरिएको हो ।