फागुन ११ गते २०७७

सरकारद्धारा विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौँ ,११ फागुन ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।त्यसका लागि बालुवाटारमा सुरक्षा परिषदको बैठक लगत्तै मंगलबार मन्त्रीपरिषदको बैठक बोलाइएको छ ।

राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै परिषदकै सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो । गएको शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए । उनले वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए ।