फागुन ३ गते २०७७

प्रधानमन्त्री भन्नुहुन्छ संसद् विघटनलाई प्रतिगमन भन्नु आपत्तिजनक

काठमाडौं,३ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए ।

सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै संसद् विघटनबारे स्पष्टीकरण दिएका थिए । एक वर्षदेखि गठनबन्धन सरकारको जस्तो नियति भोग्नु परेको भन्दै उनले विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाइ समितिमा अड्काउने काम भएको बताए ।