माघ २६ गते २०७७

प्रचण्ड भन्छन् केपी ओली अब रक्षात्मक हुनेतिर गइसके

काठमाडौँ,२६ माघ । नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अब रक्षात्म हुनेतिर गइसकेको बताएका छन्।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली अब रक्षात्मक हुनेतिर गइसके। पहिला धाकधक्कु त धेरै लगाए। तर नारायणहिटी संग्राहलय अगाडि उनकै सुरक्षाकर्मीले ३० देखि ३५ हजारको हाराहारीमा भनिदिइसकेपछि उनीहरुबीच नै गाली गरागर सुरु भइसकेको छ।’

यस्तै उनले यत्रतत्र छिरोलेर मान्छे राख्दा पनि थोरै मानिस देखिएपछि ओली रक्षात्मक हुनेतिर गएको बताए। उनले पुस ५ गते ओलीले प्रतिनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि जनताको नजरमा हार्न पुगेको आरोप लगाए।

उनले भने, ‘म पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे। तर ओली समूहले पदको लडाइँ भनेर पटक पटक मलाई नै बद्नाम गराउन खोजे।’ यस्तै उनले अब हुने २८ गते हुने कार्यक्रमको लागि तयारी गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘हामीले जनातको भरोसा जित्नका लागि सडकमा भइसकेपछि अब देशभरी नै २८ गतेको लागि वातावरण सकारात्मक बन्‍दै गएको छ। प्रतिक्रान्तिकारी हार्ने वातावरण बन्‍दै गएको छ।’२८ गतेको कार्यक्रममा शिक्षकहरुलाई सफल बनाउन जनतामा जागृति ल्याइदिन उनले आग्रह गरे।