माघ ११ गते २०७७

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपालाई दिइने

काठमाण्डौ, ११ माघ ।
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो ।

आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।

निर्वाचन आयोगमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता छ । यसैलाई आधिकारिक मान्ने निर्णय गरेर आयोगले फुटलाई मान्यता नदिने तयारी गरेको हो । वामदेव गौतमसँग केही समय अघि टेलिफोन सम्पर्कबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तै संकेत गरेको खुलेको थियो ।
अहिले ओली र प्रचण्ड–माधव नेपाल खेमाले वैधानिक नेकपा आफूहरुको भन्दै सुर्य चिन्ह पनि आफूहरुकै हुनुपर्ने दाबी गर्दै आएको छ । निर्वाचन आयोगमा दाबेदारीको निवेदन दर्ता देखि विभिन्न समयमा प्रश्नको जवाफ समेत सुरक्षित रहेको छ ।