माघ ५ गते २०७७

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी

काठमाडौं,५ माघ ।

काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

गण्डकीले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाए । यस क्रममा उनले पाँच चौका हिर्काए । यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिए । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई–दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक–एक विकेट लिए ।