पौष २३ गते २०७७

नयाँ हाँस्य टेलिसिरियल ‘४ दुना ९’ आज देखी

काठमाडौं, २३ पुष ।
नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यकासाथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल ‘४ दुना ९’ आज बिहीबार २३ पुसबाट प्रशारणमा आउने भएको छ । नेपाल टेलिभिजन बाट प्रसारण हुने सिरियल साँझ ७ बजे प्रसारण हुने छ । यस सिरियल देशको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने छ ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गरेका थिए ।
टेलिसिरियल प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिसिरियल जिल्लामा ३ देखि ५ भागसम्म छायाँकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिसिरियलमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशंङ्खलाहरु, तालहरु, नदी नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति विशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, विकास निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।

टेलिसिरियलमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

प्रवेश पोखरेल र गोकुल रावतको छायाँकन रहेने सिरियल रबिन भट्ट र सौखिन तिमल्सिनाले सम्पादन गर्ने छन् । टेलिसिरियलमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी रहेका छन् ।