भाद्र २९ गते २०७६

मुक्तक मञ्चको अध्यक्षमा रामजी,सचिवमा आलोपालो प्रणाली

भदौ-२९, पोखरा । मुक्तक पोखराको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।

मञ्चको उपाध्यक्षमा भरतराज पौडेल र सहसचिवमा हिरा अधिकारी निर्विरोध चयन भएका थिए । सचिव पदका लागि भएको निर्वाचन पदमा श्रीराम अधिकारी ‘गोर्जे’ र अनिता दाहालको ३३/३३ मत आएपछि गोला प्रथाबाट आलोपालो प्रणालीमा १/१ वर्ष सचिव पद सञ्चालन गर्ने सहमति भएको छ । गोला प्रथाबाट अनिता दाहाल पहिलो वर्षका लागि सचिवका लागि छानिएकी छिन् । यस्तै कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा के. आर. ढकाल ३५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भरत पोखरेल ‘अन्जान’ले ३१ मत पाएका थिए । जम्मा खसेको ६७ मतमध्ये १ जनाले सचिवमा र एक जनाले कोषाध्यक्ष पदमा ‘नो भोट’को अधिकार प्रयोग गरेको भेटिएको थियो ।

समितिका सदस्यहरुमा सङ्गीत लामिछाने, भेषराज पौडेल, रमा खनिया र अशोक भुर्तेल चयन भएका छन् । २ सदस्य कार्य समितिले मनोनयन गर्ने जनाइएको छ । यसअघि सम्पन्न १२ औं साधारण सभाले अध्यक्ष प्राञ्जलले पेस गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता दाहालले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सोही अवसरमा मञ्चकी पूर्व अध्यक्ष सरला लामिछाने सरुलाई पोखरेली मुक्तक सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथि तीर्थ श्रेष्ठ, सल्लाहकार दीपक समीप, लक्ष्मण थापा, सञ्जीव पौडेललगायतले सरुलाई सम्मान गरेका हुन् । २०६५ मा स्थापित मञ्चले मुक्तकसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।