भाद्र २७ गते २०७६

लद्दाखमा चीन र भारतका सेनाविच धक्कामुक्की

काठमाडाैँ, २७ भदाै । भारत र चीनको क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच धक्कामुक्की भएको जनाइएको छ ।

पश्चिमी सीमा लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार दुवै पक्षबीच केहीबेर धक्कामुक्की र विवाद भएको हो ।

भारतको चर्चित अखबार ‘टाइम्स अफ इण्डिया’ले लेखेअनुसार लद्दाखमा भारत र चीनका सेनाबीच झगडा परेको हो । बुधबार साँझ पर्नअघि सुरु भएको धक्कामुक्की साँझसम्मै चलेको सो अखबारले लेखेको छ ।

पछिल्लो समय भारतले जम्मु तथा कस्मिरको विशेषाधिकार खोसेसँगै लद्दाख क्षेत्रलाई केन्द्र प्रशासित क्षेत्र बनाएको छ । यसको चीनले विरोध र असन्तुष्टी जनाउँदै आएको छ । चीनले आफ्नो भूभाग रहेको क्षेत्रलाई समेत भारतले आफ्नो भनी दावी गरेकोमा चीनले आपत्ति जनाउँदै आएको छ ।