फागुन १९ गते २०८२

पोखरामा फोहोर संकलन सुरु, दुर्गन्ध बढेपछि अबरोध गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी

पोखरा १९, फागुन,

पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साझदेखि पुनः सुरु गरिएको हो। मंगलबार बिहानसम्म १ सय ५० गाडी फोहोर उठाइसकिएको महानगरले जनाएको छ । बिहान केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिएरै भए पनि फोहोर व्यवस्थापन अघि बढाइएको पोखराका मेयर धनराज आचार्यले बताए ।

उनले भने“फोहोरको दुर्गन्ध फैलिसकेको छ, पानी परिरहेको छ। यस्तो अवस्थामा हैजाजस्ता महामारी फैलन सक्छन्। महानगर चुप लागेर बस्ने कुरा भएन। सहमतिमै अघि बढेको काममा फेरि अवरोध हुनु दुःखद छ।” स्थानीय बासिन्दा र राजनीतिक दलहरूसँग समन्वय गरेर अस्थायी रूपमा व्यवस्थापन थालिएको बताउदै मेयर आचार्यले यो दीर्घकालीन समाधान नभई अस्थायी व्यवस्थापन मात्र भएको उल्लेख गर्दै तर जनस्वास्थ्यको सवालमा महानगर अब पछि नहट्ने जिकिर गरे ।

मेयर आचार्यले सामाजिक सञ्जालमार्फत पनि कडा चेतावनी दिएका छन्। सहमतिमा अघि बढेको फोहोर विसर्जन कार्यमा अवरोध नगर्न राजनीतिक दलका नेताहरूलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको स्पष्ट सन्देश छ। डेढ महिनादेखि नियमित फोहोर उठ्न नसक्दा बजार क्षेत्र, मुख्य चोक र सडक किनारामा थुप्रिएको फोहोरबाट दुर्गन्ध फैलिएको छ। गर्मी बढ्दै जाँदा र वर्षा हुन थालेपछि स्वास्थ्य जोखिमसमेत बढेको भन्दै महानगरले फोहोर संकलनलाई प्राथमिकतामा राखेको मेयर आचार्यले जनाए ।

हाल ३८ वटा फोहोर संकलन गाडी परिचालनमा छन्। बजार क्षेत्रमा करिब १ हजार ५ सय ट्रक बराबर फोहोर थुप्रिएको अनुमान गरिएको छ। महानगरले आज र भोलिसम्म अधिकतम फोहोर उठाइसक्ने लक्ष्य लिएको छ। बजारको फोहोर संकलन गरेसंगै फोहोर गाडीको रुट अनुसार घर घरमा फोहोर संकलन हुने भएको महानगरले जनाएको छ । महानगरले पुनः अपिल गरेको छ, घर तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, बसपार्क, ताल–पोखरी र नदी किनारमा जथाभावी नफाल्न आग्रह गर्दै गाडीको पालो कुर्नु र कुहिने–नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो । फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीति नगर्न र सहकार्य गर्न महानगरको आग्रह छ। यसैबिच, नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेल ले फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिककरण नगर्न आग्रह गरे । दलहरूको दोहोरो चरित्र लज्जास्पद भएको टिप्पणी गर्दै उनले फोहोरमाथिको दुर्गन्धित राजनीति बन्द गर्न सामाजिक सञ्जाल सन्देश आग्रह गरे ।