चैत्र २८ गते २०८२

हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

पोखरा । विष्णुपादुका क्लब आयोजनामा शुक्रबार हेमजामा १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । हेमजाको विष्णुपादुका खेल मैदानमा२७ चैतदेखि ५ वैशाखसम्म सो महोत्सव संचालन हुनेछ ।
महोत्सव उद्घाटन गर्दै आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डिङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो कितावमा समेटिएको स्पष्ट पनि पारे । हेमजाका विकास आयोजना चौरासी नहर, साझाचोक तिव्बतीयन क्याम्प सडक तथा सुइँखेत खोला व्यवस्थापनलगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।
महानगरपालिका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाइ राखे । उनले कृषि मर्यादित, गर्वलायक कर्म भएको जनाउँदै आलु महोत्सवका कारण हेमजा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको बताए ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापारमार्फत स्थानीयको जीवनस्तर उठाउन लागिपरेको बताए ।
आयोजक क्लब अध्यक्ष एवं मूल समारोह समिति अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्दै महोत्सवमार्फत पोखरामा कृषि पर्यटक बृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।
महोत्सव सुरु हुनुपुर्व स्थानीय विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषिझाँकी र्‍याली निकालिएको थियोे । र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । त्यस्तै, कृषिझाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुतिलगायत विभिन्न कृषि उपज बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी हुनेछन् ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल राखिएका छन् । यहाँ ३५ रुपैयाँ प्रतिकेजी आलुको कारोबार हुनेछ ।
मूल आयोजक समिति अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपीन पौडेलले स्वागत र महासचिव विकल थापाले कार्यक्रम संचालन गरे ।
महोत्सवको दोस्रो दिन शनिबार कलाकार शान्तिरानी परियार, परशुराम अधिकारी, सुनिल गायकलगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ।