चैत्र १० गते २०८२

७० लाख घुस लिएका सहसचिव झलकराम अधिकारीसँग बिशेष अदालतद्वारा २५ लाख धरौंटी माग

पोखरा १०, चैत्र

विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका पूर्व राजस्व अनुसन्धान विभागका महानिर्देशक एवं
सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार अधिकारीलाई उक्त रकम धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १ गते विशेष अदालतमा दायर गरेको मुद्दामा अधिकारीमाथि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस लिएको आरोप छ । उनले सो रकम आफु र आफ्ना व्यवसायिक साझेदारको खातामा राख्न लगाएर राजश्व छली गर्ने कम्पनीलाई उन्मुक्ति दिएको अख्तियारको आरोप छ । उनी महानिर्देशक बनेको एक महिनाको अवधीमा नै सो घुस रकम लिएको अख्तियारले दाबी गरेको छ ।

उनी भ्रष्टाचारमा संलग्न भएको खुलेपछि जागिरबाट निलम्बनमा परेका थिए ।
२०७९ मा एचके इन्टरप्राइजेज नामक कम्पनीविरुद्ध राजस्व चुहावटको उजुरी परेपछि कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले मुद्दाबाट जोगिन अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।
सो रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतका व्यक्तिहरूको सल्लाहमा उनीहरूका खातामा राखिएको खुलासा भएको थियो ।

 

त्यसपछि उक्त रकमबाट भक्तपुरको दिव्यश्वरी आयोजनाभित्र ५ आना जग्गा खरिद गरिएको र देवेन्द्र केसी सञ्चालक रहेको पोखरा–६, लेकसाईडको द कुटी रिसोर्टको ऋण तिर्न पनि प्रयोग भएको अख्तियारले दाबी गरेको छ ।

झलकराम अधिकारी कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला देउवा परिवारसँगको विशेष सम्पर्क सूत्रमार्फत २०७९ असार १ देखि कात्तिक १६ गतेसम्म साढे पाँच महिनामात्र महानिर्देशक बनेका थिए । मुद्दा दायर भएसँगै उनी अहिले निलम्बनमा परेका छन् । अख्तियारले अधिकारीमाथि भ्रष्टाचार मुद्दासँगै गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोप पनि लगाएको छ ।
अधिकारी उपसचिव रहेका वेला तत्कालिन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत हुँदा नै घुस प्रकरणमा विवादित थिए ।

उनी राज्यश्रोत दोहन गरी शक्ति केन्द्र रिझाउँदै आफ्नो अभीष्ट सिद्ध गर्न माहिर कर्मचारी रहेको उनलाई व्यहोरेका सेवाग्राही तथा कर्मचारी बताउँछन् ।
पोखराबाट काठमाण्डौ सरुवा भएपछि सहसचिव बनेका उनै अधिकारी यसअघि सुन तस्करीमा समेत संलग्न रहेका थिए ।