पौष २० गते २०८२

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा

कमल पौडेल अथक
पोखरा २०, पुस
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको शुभारभ्भ गर्दै एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीक एकता आजको आवश्यकता भएको वताए । उनले अहिले ए आईको युगमा नाफा मात्र कमाउने भन्दा पनि वितरणलाई वढी ध्यान दिन जरुरी रहेको वताए ।
उनले व्यवसायीहरुले आचरण सहितको व्यवसाय, रोजगारी वृद्धि र स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता दिन आग्रह गरे ।
नेपाल मोबाइल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सोभियत प्रसाईंले छोटो समयमै महासंघको सञ्जाल देशका ७२ जिल्लामा विस्तार भएको बताउँदै भावि दिनमा यसको गरिमा राख्न आग्रह गरे । व्यवसायी बीच एकता नहुँदा कम्पनीको मनोमानी, मार्जिन तथा स्किममा विकृतिको उनको गुनासो छ ।
सङ्घका अध्यक्ष चिन्तामणि खरेलले संघलाई चलायमान वनाउन सवैको साथ र समर्थन आवश्यक रहेको वताए । संस्था व्यक्तिको नभएर सबैको साझा भएको हुँदा यसलाई फलाउन फुलाउन सवै व्यवसायीको उत्तिकै हात रहेको वताए ।
कोरोना महामारी, जेन्जी आन्दोलन तथा वैदेशिक रोजगारीका कारण बजारमा आएको आर्थिक मन्दीले व्यवसाय प्रभावित भएको उनको भनाई छ ।
सङ्घका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा र उपेन्द्र पौडेल लगायतले वोलेका थिए ।
नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो महाधिवेशन २०८२ माघ १७ गतेदेखि काठमाडौंमा हुने जनाइएको छ ।
साधारण सभामा अध्यक्ष खरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव रामचन्द्र तिवारीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गानाथ लामिछानेको आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित भएको अध्यक्ष खरेलले जानकारी दिए ।
यसअघि पोखराको बास्तोलाथरबाट बाजागाजा र ३ वटा घोडा सहितको प्रभातफेरी र्याली नयाँबजार, महेन्द्रपुल र चिप्लेढुङ्गा हुँदै सभास्थलमा पुगेर सभामा परिणत भएको थियो ।