मंसिर २ गते २०८२

पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

मंसिर १,पोखरा
पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो ।

५७ वर्षीय दवाडीलाई एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पार्थीव शरीर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोक पुर्‍याइएको पत्रकार कृष्ण दवाडीले जानकारी दिए ।

पोखराको साहसिक पर्यटनको विकास होस् वा गाउँमा महिला दिदीबहिनीको आयआर्जनका लागि उनको महत्वपूर्ण योगदान रहेको नेपाल हवाई खेलकुद संस्था ९ना० का पूर्व अध्यक्ष कृष्ण भण्डारी स्मरण गर्छन् । ‘उहाँको निधनको खबरले स्तब्ध भएँ,’ भण्डारीले भने, ‘पोखराको साहसिक पर्यटन व्यवसाय तथा सामाजिक संघसंस्था खोल्न, सीप सिकाउनेलगायत समग्र सामाजिक कार्यमा उहाँको ठूलो योगदान छ । पोखराले एकजना अग्रज पर्यटन व्यवसायीलाई गुमाउन पुग्यो ।’

टान गण्डकीका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल पोखराको पर्यटन क्षेत्रको विकास, ट्रेकिङ व्यवसायको समृद्धि तथा संस्थाको उन्नतिमा उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘उहाँ ९स्व। दवाडी० को समर्पण, नेतृत्व र प्रेरणादायी व्यक्तित्वले टान गण्डकी मात्र होइन, सम्पूर्ण पर्यटन समुदायलाई गहिरो प्रभाव पारेको थियो । उहाँको असामयिक निधनले पर्यटन क्षेत्रले एक अग्रज, अभिभावक तथा मार्गदर्शक गुमाएको छ ।’

टान गण्डकीका पूर्व अध्यक्ष दवाडी पछिल्लो समय नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याण्डग्लाइडिङ संघ नेफा गण्डकी प्रदेश अध्यक्ष थिए । यसबाहेक उनी विभिन्न संघसंस्थामा रही सेवा गरेका थिए ।

नेपालको पर्यटन तथा नेपाली सहासिक खेलकुद विकासको अग्रणी व्यक्तित्वको रुपमा पहिचान बनाएका दवाडी पोखरा पर्यटन परिषद तथा ना का पूर्व उपाध्यक्ष समेत हुन् । उनी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य भई ४ वर्षसम्म सेवा गरेका थिए ।

नेपालका लागि स्वीट्जरल्याण्डको अवैतनिक राजदूत रहेर कार्य गरेका उनले आफ्नो गाउँ घाचोकमा आमा स्मृति प्रतिष्ठान खोलेका थिए । जहाँ हाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालित छ । महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सिप सिकाउनेदेखि लिएर गरीब तथा विपन्न वर्गका छात्राहरुलाई निःशुल्क शिक्षाको समेत प्रबन्ध मिलाएका थिए । उनको पोखरा र घाचोकमा होटल व्यवसाय छ ।

माछापुच्छ्रे गाउँपालिकामा समेत प्याराग्लाइडिङ केन्द्रको रुपमा स्थापित गर्न अघिल्लो वर्ष उनकै सक्रियतामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको थियो।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।