कार्तिक २१ गते २०८१

कार्तिक नाच आजदेखि सुरु

कार्तिक २१, पोखरा ।
तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ ।

पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक(फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ ।

यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ’, अध्यक्ष चित्रकारले बताए ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक(फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याए भनिन्छ ।

अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ ।