कार्तिक ४ गते २०८१

निगमका सबै जहाजमा ‘समस्या’, अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त

कार्तिक ०४, पोखरा ।

अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी प्राविधिक समस्याका कारण शनिबार घण्टौं ढिलो उड्दा हजारौं यात्रु बिचल्लीमा परेका छन् । ‘आयल फिल्टर’ मा समस्या देखिएपछि न्यारोबडी ‘सगरमाथा’ दिल्लीबाट १९ घण्टा ढिलो गरी काठमाडौंमा अवतरण भयो भने अर्को न्यारोबडी ‘लुम्बिनी’ दुबईबाट उड्ने बेला कम्प्युटर प्रणालीमा समस्या देखिएपछि तीन घण्टा ढिलो काठमाडौं आइपुगेको छ ।

वाइडबडी ‘अन्नपूर्ण’ इन्जिनमा समस्या देखिएर बिहीबार रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ । बाँकी अर्को वाइडबडी जहाज भने विस्तृत मर्मत ९सी–चेक० का लागि इटालीमा छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग चार वटा मात्र जहाज छन् । सबै जहाजमा समस्या आउँदा उडानका लागि तयार भइसकेका यात्रु प्रभावित भएका छन् । सयौं यात्रुलाई निगमले काठमाडौं र विदेशका स्टेसनका होटलमा राख्नुपरेको छ । ‘कनेक्टिङ’ उडान भएका यात्रुलाई तत्काल अरू जहाजको महँगो टिकट किनेर पठाउनुपरेको छ । दैनिक २ करोडको कारोबार हुने नाफायुक्त नारिता (जापान) को उडान अनिश्चित बनेको छ ।

निगमको वाणिज्य विभागका अनुसार इटालीबाट ‘सी–चेक’ सकेर करिब एक महिनाअघि मात्र ल्याइएको वाइडबडी अन्नपूर्णको दायाँ इन्जिनमा बिहीबार समस्या देखिएको थियो ।