फागुन २ गते २०८०

उत्पादन बृद्धि हुने भएपछि स्याङजाको आलु पकेट क्षेत्रका किसानहरुमा खुसियाली

कमल पौडेल अथक
पोखरा २, फागुन
उत्पादनमा बृद्धि हुने भएपछि स्याङ्जाको आलु पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको छ । जिल्लाको चापाकोट र गल्याङमा रहेको पकेट क्षेत्रका कृषकहरुमा खुसियाली छाएको हो । उनीहरुले बीउ र खायन आलु उत्पादन गरेका हुन् ।
कृषि विकास निर्देशनालय गण्डकीद्धारा कृषि ज्ञान केन्द्र स्याङजा मार्फत् ती क्षेत्रमा २ करोड ३८ लाख रुपैयाँ अनुदान प्रदान गरी कृषकहरुलाई आलु खेती गर्न सघाएको छ ।

अहिले त्यहाँको १ हजार ७ सय रोपनी क्षेत्रफलमा किसानहरुले आलुखेती गरेका छन् । यसैगरी स्याङ्जाको त्रियासी श्रोत केन्द्रमा पनि बीऊ आलु उत्पादन गरिएको छ । एमएस सेतो, जनकदेब रातो र खुमल जातको आलुको बीऊ उत्पादनमा कृषि ज्ञान केन्द्रले लगानी गरेको हो ।
यता आलु उत्पादन राम्रो भएपनि बाँदरबाट जोगाउन चुनौति रहेको कृषकहरुको भनाई छ । गाउँमा बाँदरले सताएको छ, बाँदर नियन्त्रणको लागि कि सरकारले जिम्मा लियोस् होइन भने हामीलाई जिम्मा दियोस् हामी बाँदर नियन्त्रण गर्छौ तर हामीलाई हत्कडी नलगाईयोस् गल्याङको जौवारी कृषक समूहका अध्यक्ष रुमलाल कँडेलले भने ।
आलु उत्पादनदेखि भण्डारणसम्मको लागि सरकारले कृषकहरुलाई सघाएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले जानकारी दिएका छन् । यो वर्ष आलुमा ढुसी रोग देखा परेन, हामी हाम्रो लगानीमा सन्तुष्ट छौं उनले भने । उनले आलुको बीऊ भण्डार गर्दा ध्यान दिन कृषकहरुलाई आग्रह गरे । यदि बीऊ आलु भनेर संक्रमीत आलु अन्य स्थानमा विक्री वितरण गर्ने परिपाटी भयो भने त्यसमा अनुदान कटौति गर्न वाध्य हुने उनले कृषकहरुलाई सुनाए ।
स्याङ्जा जिल्लामा सुन्ताला सँगै आलुखेती पनि सफल छ भन्ने उदाहरण किसानहरुले पेश गरेको कृषि ज्ञानकेन्द्र स्याङजाका प्रमुख विनोद हमालले वताए । हामी आलु उत्पादनले निकै उत्साही भएका छौं उनले भने । स्याङ्जा जिल्लाको भौगोलिक परिवेश पहिचान गर्दै उपयुक्त वाली लगाउन कृषकलाई प्रोत्साहन गर्दै आएको ज्ञान केन्द्र प्रमुख वताए ।
आलु पकेटक्षेत्रको अवलोकन गर्दै प्रदेशका भूभि तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीले उत्पादनमा कृषकलाई सघाउन सरकार तयार रहेको वताए । उनले भने अनुदान लाने र दुरुपयोग गर्ने काम गर्न भएन । उनले भने अहिले अनुदान लैजाने र दुरुपयोग गर्ने रोग नै देखा परेको छ । त्यसैले यसमा सबै जिम्मेवार हुन आवस्यक छ ।
उनले यस्तै अवस्था रहे र युवा जनशक्ति पलायन हुँदै गए नेपालमा कुनै दिन राजनीति गर्नेहरुले मतदातालाई हामीले खाद्यान्न दिन्छौं हामीलाई भोट देऊ भन्ने दिन आउने वताए ।

उनले स्याङजाको भौगोलिक परिवेश अनुसार चापाकोटमा लिफ्ट सिंचाइँ भन्दा डीप सिँचाई उपयुक्त देखिएकोले सरकारले त्यसमा विशेष चासो ध्यान दिने वताए ।
सो अवसरमा प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर पौडेल, सांसद महेश भट्टराई, निर्मला राना, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, प्रदेशका कृषि सचिव टंकप्रसाद प्रसाइँ, गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराई, चापाकोट नगरपालिकाका मेयर देववहादुर खाँड, वरिष्ट कृषि विकास अधिकृतहरु बलकृष्ण अधिकारी, शालिकराम अधिकारी, माधव लम्साल, लगायतले आलुखेती र त्यसले कृषकमा देखा परेको उत्साहका वारेमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।