कार्तिक २३ गते २०८०

खोइ उपभोक्ता अधिकार ? देशका नियम कानून र विधेयकमा पनि विचौलिया हावी

कमल पौडेल अथक
पोखरा २३, कार्तिक
उपभोक्ताका अधिकार संरक्षण गरिनुपर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार पोखरामा आयोजित उपभोक्ता व्यवसायीका समस्या र उपभोक्ता अधिकारका सवालमा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने बक्ताहरुले सो कुरा वताएका हुन् ।
सो अवसरमा वोल्दै उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले देशका नियम कानुन र विधेयकमा पनि विचौलिया हावी भएको कारण उपभोक्ताका अधिकार हनन भएको वताए ।
देशमा उद्योग धन्दा बन्द गर्ने र विदेशबाट सामान आयात गर्ने परिपाटीले गर्दा देशको अर्थतन्त्र नै खोक्रो भएको उनले वताए । साथै उनले उद्योगी व्यवसायी र उपभोक्ताको संम्वन्ध सुमधुर भए मात्र उपभोक्ताका अधिकार स्थापित हुने वताए ।
उनले राज्यको नीति नियम र उपभोक्ता हित समिति भन्दा विचौलियाहरु शक्तिशाली रहेको वताए । विचौलिया परास्त नगरेसम्म उपभोक्ताका अधिकार सुरक्षीत नहुने उनको भनाइ छ । अहिलेसम्म बनेका अधिकांश नीति नियम विचौलिया कै इशारामा बनेका छन् अनि कसरी उपभोक्ताका अधिकार सुरक्षीत हुन सक्छन् उनले भने ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मान्छेले नै देशमा उपभोग्य सामाग्रीको अभाव गराउने गरेको वताए । सरकारले उपभोक्ता मैत्री नियम र कानून वनाउन नसक्दा उपभोक्ता ठगिएको उनले वताए ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन उद्योग उपभोक्ता निर्देशनालयका निर्देशक नारायण ढकाल, पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव बलराम आचार्य, उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथक लगायतले बोलेका थिए ।
यसैबीच समितिले पछिल्लो समयमा पोखरामा भएको बजार अनुगमन र त्यसको प्रतिफलका वारेमा सरोकारवालाहरु सँग छलफल गरेको थियो । छलफलमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यो आर्थिक वर्षमा भएका बजार अनुगमन, उपभोक्ता शिक्षा र गलत गर्ने विरुद्धमा कारवाही गरिएको प्रतिवेदन पेश गरेका थिए ।