असाेज १४ गते २०८०

सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह

१४ असोज पोखरा

‘ज्येष्ठ नागरिकको अन्तरपुस्ताका लागि मानव अधिकार ः बिश्वब्यापी घोषणाका प्रतिज्ञा पुरा गर्दै’ भन्ने मुल नारा सहित आज पोखरामा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्यष्ेठ नागरिकहरुको अन्तराष्ट्रिय पर्वको रुपमा मनाईने यो दिवस नेपाल सरकार, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा मनाउँदै गर्दा गण्डकी प्रदेश र स्थानीय निकायमा भने छुट्टाछुट्टै मनाएका छन् ।
गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री सुशिला सिंखडाले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाई रहदा ज्येष्ठ नागरिकहरुको सम्मानको खातिर उहाँहरुलाई घरमा सम्मानपुर्वक बाँच्न पाउनु पर्ने बातावरण बनाउन सबैलाई आग्रह गरेकी छन् । मन्त्री सिंखडाले अशक्त, बेवारिसे ज्येष्ठ नागरिकको हेरचाह गर्ने दायित्व सरकारको हो भन्दै सबै सुबिधा प्रदान गर्द नसकेपनि प्रदेश सरकारले ज्येष्ठ नागरिका लागि छुट्टै कानुन बनाएर बिशेष संरक्षण गर्न आफु लागिपर्ने बताईन ।
घरमा हेरचाह गर्ने कोही नभएमा दिवासेवा केन्द्र र स्याहार केन्द्रहरुले ज्येष्ठ नागरिकहरुलाई सेवा गर्नु पर्ने राय ब्यक्त गरेकी छन् । ज्येष्ठ नागरिकहरु हाम्रा अनुभवका खानी हुन भनेर मात्रै नपुग्ने बरु उनिहरुलाई बाँकी जीवन खुशी, शान्तिपुर्वक बाँच्न पाउने बातावरण बनाउन प्रदेश सरकारले दिवासेवालाई अनुदान छुट्टाएको बताईन ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको महत्व माथि प्रकाश पार्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, केन्द्रीय समितिका कार्यबाहक महासचिव एवम प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले आउँदो तीन दशकमा ज्येष्ठ नागरिकको विश्वव्यापी जनसंख्या दुईगुणा वृद्धि भएर १.५ अर्बभन्दा बढी २०५० सम्ममा हुने अनुमान गरिएको कुरा बताए । यो तथ्यांक २०१९ देखि २०५० सम्मको ज्येष्ठ नागरिकको जनसंख्याको अनुमान तय गरिएको हो। सबभन्दा बढी वृद्धि ३.१२ करोड पूर्व र दक्षिणपूर्व एसियामा बढेको देखिन्छ। यो वृद्धि २.६१ करोड २०१९ मा थियो भने २०५० सम्ममा ५७.३ करोड वृद्धि हुने देखिन्छ ।
मानिसको जन्मदर घट्दै गएको नेपालमा ज्येष्ठ नागरिकहरुको जनसंख्या बि.सं.२०७८ को जनगणना अनुसार १०.२१ प्रतिशत पुगेको छ । यसरी ज्येष्ठ नागरिकहरुको संख्या बढ्नु उनिहरुको सामाजिक आर्थिक क्षेत्रमा हुनु पर्ने योगदानका लागि सरकारी गैह्र सरकारी निकाय उदासिन हुनु भनेको राष्ट्रको समग्र बिकासमा नोक्सान हुनु हो भन्दै महासचिव पराजुलीले तत्कालै स्थानीय, प्रदेश र संघीय सरकारले सक्रिय ज्येष्ठ नागरिकहरुलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह गरे ।
गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले आÇनै तर्फबाट यो दिवस मनाउने कुनै कार्यक्रम नरहेको भएपनि जिल्लाहरुमा सामाजिक बिकास कार्यालयहरु मार्फत यो दिवस मनाउन सहयोग गरेको छ । यसै शिलशिलामा सामाजिक बिकास कार्यालय कास्कीले पोखरा बृद्धाश्रममा खाद्यान्न बितरण र ज्येष्ठ नागरिकहरुकलाई सम्मान गरेर मनाएको छ । सामाजिक बिकास कार्यालयका प्रमुख ईन्द्र बहादुर थापाका अनुसार आश्रममा आफुहरुले बीस हजारको खाद्य सामाग्री बितरण गरिएको थियो । गण्डकी प्रदेशका निमित्त शिक्षा निर्देशक घनश्याम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सानो सहयोग गरिएको भए पनि सरकारले कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताईएको थियो ।
अन्तराष्ट्रिय स्तरको पर्व मनाई रहँदा कास्की जिल्ला स्थित सरकारी र गैह्रसरकारी निकायको समन्वयको अभाव किन खड्कियो त ? भन्ने प्रश्नमा पनि सरकारी र गैह्रसरकारी निकायका भिन्दा भिन्दै भनाई रहे । उता पोखरा महानगर पालिकाले आÇनो कार्यक्षेत्र भित्रका सबैभन्दा ज्येष्ठ नागरिक मध्य महिला र पुरुष एक एक जनालाई नगरपिता नगरमाताको सम्मान प्रकट गर्दै आएको छ । यसैगरी वडा कार्यालयहरुले पनि आÇनो वडाका ८५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई यो दिवसमा सम्मान गरिएको कुरा पोखरा महानगर पालिका वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीले बताईन ।
गण्डकी ज्येष्ठ नागरिक संघका संस्थागत सदस्यहरु पोखरा बृद्धाश्रम र आनन्दित गृहले भने कार्यक्रमको संयुक्त आयोजना गरी मनाएको समाचार प्राप्त भएको छ । स्थानीय सरकारहरुले एक्लाएक्लै अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाई रहँदा संघसंस्थाहरुले भने मिलेर मनाएकोमा ज्येष्ठ नागरिकरु खुशी भएका छन् । आफुहरुले “आश्रम र दिवासेवा केन्द्रहरुमा रहेका आमाबुवाहरुलाई एकै ठाउँमा ल्याएर उहाँहरु हर्ष बिभोर हुनु भयो” कार्यक्रम संयोजक तथा आनन्दित गृहकी प्रबन्ध निर्देशक रोमा शाक्यको कथन छ ।
संयुक्त कार्यक्रममा स्थानीय निकायलाई बोलाईएको भए पनि कार्यब्यस्तता देखाएर आउन सकेनन् । ज्येष्ठ नागरिकका यस्ता कार्यक्रममा आउन नमान्ने प्रबृत्तिले आफुहरुलाई प्रोत्साहित नगरेको भनाई आयोजकहरुले बताएका छन् । आफुहरुले निमन्त्रणा गरेका धेरै कार्यक्रमहरुमा महानगरका जनउत्तरदायी प्रतिनिधि नआउने गरेको गुनासो समेत ज्येष्ठ नागरिकका क्षेत्रमा कार्य गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरुले आरोेप लगाएका छन् । “गैह्रसरकारी निकायसंग मिलेर काम गर्ने संस्कृति अन्य पालिकामा भए पनि हामीले पोखरामा त्यो पाएनौं” पोखरा बृद्धाश्रमका सचिव धर्मबहादुर गुरुङ्गले बताए । आनन्दित गृहका अध्यक्ष डाक्टर यज्ञमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुपेन्द्र गिरी लगायतका सामाजिक अभियन्ताहरुले बोलेका थिए ।