असाेज १० गते २०८०

शिक्षासेवी चतुरमानलाई राधा–लक्ष्मी स्मृति पुरस्कार

गोविन्द तिमिल्सिना
असोज, २०८०

पोखराको लामाचौर निवासी शिक्षासेवी चतुरमान श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच राधा–लक्ष्मी स्मृति पुरस्कार अर्पण गरिएको छ ।
साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने शिक्षासेवी श्रेष्ठलाई अर्पण गरिएको हो । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।


प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा १९९४ मा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गरेको हो । लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आएको छ ।
सुनिल गायकको संयोजकत्वमा कृष्णप्रसाद पौडेल, केशवशरण पौडेल र गंगा त्रिपाठी रहेको प्रतिभा छनौट समितिले शिक्षासेवी श्रेष्ठलाई पुरस्कारको लागि छनोट गरेको थियो ।
शिक्षासेवी श्रेष्ठले २०१४ मा एस.एल.सी पास गरि २०१८ मा आइ.ए.२०२२ मा बि.ए पास गर्नुभएको हो । उहाँको शैक्षिक योग्यता डिग्री पास रहेको छ । उहाँले शिक्षा बिशेष सम्मान पत्र २०६१ लगाएत विभिन्न सम्मान प्राप्त गर्नु भएको छ । उहाँले राष्ट्रिय हेमजना आलु महोत्सव लगाएत शिक्षा मन्त्रालय बाट सम्मानित हुनु भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै भाषाविद् मुकुन्दशरण उपाध्यायले नेपाली भाषा बिगार्न नहुने बताउदै भाषा बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली भाषा नेपालको मात्र नभइ भारतको दार्जिलिङ लगाएतका ठाउँमा पनि प्रयोग गरिने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर पुरस्कार स्थापक माधवशरण पौडेल र छन्दमणी त्रिपाठीले बोल्नु भएको थियो । उक्त कार्यक्रममा रामेश्वर गिरीले रचना वाचन गर्नुभयो ।
प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल गायकले र सञ्चालन सचिव परशुराम अधिकारीले गर्नु भएको थियो ।