असाेज ७ गते २०८०

पोखरामा बजार अनुगमन, उपभोक्ता ठग्ने भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना

पोखरा ७, असोज
कमल पौडेल अथक
जिल्ला अनुगमन समिति कास्कीले पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
समितिले आइतवार गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी चरम ठगी गरेको पाइएपछि ठाउँका ठाउँ सो जरिवाना गरेको हो ।
सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खानेतेल सहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहेको नरिवल समेत नष्ट गरेको छ ।
समितिले स्टोर्सका सञ्चालक बिवेक कुमार गुप्तालाई ३ दिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ ।
त्यसैगरी समितिले पोखरा ५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । सो स्टोर्समा विक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको ३ बोतल फ्यान्टा, प्रतिकिलो ९७ रुपैयाँमा खरिद गरेको चिनी १२० रुपैयाँमा विक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरेको समितिले जानकारी दिएको छ ।
सो स्टोर्सले नापतौलका यन्त्र समेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि ३ दिन भित्र प्रशासनमा हाँजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ ।
त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर गरी ८१५ रुपैयाँ वरावरको सामान नष्ट गरेको छ । सो स्टोर्सका संञ्चालक राकेश यादवलाई ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा हाँजिर हुन निर्देशन दिएको छ ।
यसैबीच मालेपाटनमा नै रहेको नारायणी रिफाइनरी उद्योगले विना साइनबोर्ड पसल सञ्चालन गरेकोले प्रक्रिया पुर्याएर पसल सञ्चालन गर्न सञ्चालक जगत धामीलाई निर्देशन दिएको छ ।

यतिवेला वजारमा चिनीको मुल्य बढाएर व्यापारीहरुले विक्री गरेका छन् । चाडबाडको बेला सवै भन्दा बढी विक्री हुने चिनीको मूल्य बढाउन उद्योगहरु नै सक्रीय रहेपनि त्यो भन्दा वदमासी व्यापारीहरुले गरेको भेटिएको छ । व्यापारीहरुले ९७ रुपैयाँमा उद्योगवाट किनेको चिनी अधिकतम १०५ रुपैयाँ सम्मा विक्री गर्नुपर्नेमा किलोमा नै ३३ रुपैयाँ नाफा खाँदै १३० रुपैयाँसम्ममा विक्री गरेको अनुगमनको क्रममा भेटिएको छ ।
चाडबाडको बेला बजारमा जथाभावि मूल्य बढाएको भन्दै पोखराका झण्डै २ दर्जन खाद्य स्टोर्सको वारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको हो । अनुगमनलाई निरन्तरता दिने समितिले जानकारी दिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अगुवाइमा भएको अनुगमन समितिमा पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका अधिकृत छैंटौ राजेन्द्रप्रसाद पौडेल, उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथक, गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरिक्षण अधिकृत रघु पौडेल, जिल्ला प्रशासन कार्यालय कास्कीका नायब सुब्वा शिवप्रसाद गौतम, खाद्य निरीक्षक सविना सुनार, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक डिल्लीराम पौडेल लगायत सहभागी रहेको जिल्ला अनुगमन समिति कास्कीले जानकारी दिएको छ ।