जेठ १५ गते २०८०

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

१५ जेठ,पोखरा
घनश्याम पौडेल

पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आज गणतन्त्र दिवशको उपलक्ष्यमा संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीले उक्त संरक्षित पार्क खुल्ला गरिने कार्यको उदघाटन गरे । पोखरा लेकसाइडको मुख्य स्थानमा कुल १०४ रोपनीमा फैलिएको उक्त पार्क बि सं २०१५ सालमा राजा महेन्द्रले आफनी श्रीमती रत्नको नाममा बनाउन लगाएका थिए । लामो समय राजदरबारको सम्पत्ती र राजा पोखरा आउदा रहने बस्ने दरबारको रुपमा स्थापित सो पार्क बि सं २०६७ पछी नेपाल ट्रष्टको माताहतमा गएको थियो तर पनि सर्वसाधारणका लागि भने प्रबेश निषेध थियो । फेवाताल किनारमा ताल अवलोकन तथा आराम गर्ने दरबारको रुपमा स्थापित उक्त पार्क भित्र बिभिन्न १० भवनमा १६ कोठाहरु ,तालघर, बाग बगैचा आदी छन जुन पूर्व राजाहरुले पोखरा भ्रमणको क्रममा प्रयोग गर्ने गर्दथे । पोखराको मुख्य पर्यटकिय स्थानमा रहेको रत्नमन्दिर राजदरबारको रुपमा चिनिने उक्त रत्नमन्दिर पार्क खुल्ला हुनाले पोखराको दृश्वावलोकनको अर्को एक स्थान थपिएको र यसबाट पोखरा आउने स्वदेशी तथा बिदेशी पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा स्थानिय पर्यटन ब्यावसायीको छ ।