असार २ गते २०७९

अन्तराष्ट्रिय हेमजा गोल्डकपको तयारी अन्तिम चरणमा


पोखरा २ असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाकिँ रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ ।
१ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छन । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता लाई सबै तह र तप्का वाट सहयोग गर्न अनुरोध समेत गरे । उनले पोखरामा एक मात्रै आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं । ’
उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘हामीले सबै ए डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं । मोफसलमा गोल्डकप जितेका टिमहरुलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरुको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’
पोखरा –२५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ ।