असार १ गते २०७९

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजार सहयोग

तनहुँ ,१ असार ।

डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत रु ५० हजार प्रदान गरेको छ ।

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हालै हस्तान्तरण गर्नुभएको हो ।

बन्दीपुर गाउँपालिका–१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुई मिटर माथि जङ्गलमा लगेको थियो । मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्चबापत उक्त रकम प्रदान गरिए पनि बाँकी रु नौ लाख ५० हजार छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताउनुभयो ।

गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई रु ५० हजार दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराउन पहल भइरहेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस