वैशाख १३ गते २०७९

सन्दर्भ फोटो पत्रकारिता

नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ । अर्थात नेपालमा पहिलो पटक फोटोलाई समाचारको रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो ।

त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रुपमा प्रकासित पहिलो फोटो भएकाले यस दिनलाई नेपलाका फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आइरहेका छन् । आजभन्दा ९५ वर्ष पहिले वीरगञ्जकी एक महिला चारुमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनलाई स्मरण गर्दै वैशाख १३ मा सबै फोटो पत्रकार र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाहरुले यसलाई दिवसको रुपमा मनाउँदै अएका छौँ ।

आजको यो विशेष दिनमा सम्पूर्ण फोटो पत्रकारहरुले ९५औँ फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाउन पाउँदा हामीलाई गौरव महसुस भएको छ । आजको दिन फोटो पत्रकारिता पेशा, यससंँग  सम्बन्धित सम्पूर्ण सङ्घ संस्था, आम सर्वसधारण र शुभेच्छुमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) हार्दिक शुभकामना व्यक्त गर्दछ । यो दिवसलाई राष्ट्रिय फोटो पत्रकार समूहले आफ्नो स्थापनाकालदेखि नै जोडदारका साथ मनाउदै आएको छ ।

२५ वर्ष अघि नेपाली फोटो पत्रकार र पत्रकारितालाई सङ्गठित, व्यवस्थित र संरक्षित गर्दै अगाडि बढ्ने पवित्र उदेश्यले यो संस्थाको जन्म भएको थियो । आज यही संस्थाको पहल र निरन्तरताले नेपालमा वैशाख १३ फोटो पत्रकारिता दिवसको रुपमा स्थापित भएको छ । यही संस्थाले पहिल्याएको बाटो पछ्याउदै अन्य फोटो पत्रकारितासँग सम्बन्धित र सरोकारवालाहरुले पनि आत्मसाथ गर्न थालेको देख्दा एनएफपिजे नेपाल गर्ब महसुस गर्दछ ।

‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’, भन्ने मूल मर्मलाई आत्मसात गर्दै ९५औँ फोटो पत्रकारिता दिवसको सन्दर्भमा सम्पूर्ण सस्थाका सदस्यहरु लगायत फोटोपत्रकार,फोटोग्राफरहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।