पौष ३ गते २०७८

भीम रावललाई दियो एमालेले सल्लाहकारको जिम्मेवारी

काठमाडौं, ३ पुस । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए ।

उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने बताए । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।