भाद्र १२ गते २०७८

अष्टलक्ष्मीलाई हटाउन विशेष अधिवेशनको तयारी

काठमाडौं, १२ भदौ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा विश्वासको मत नपुग्ने देखेपछि प्रदेशसभाको जारी आठौँ अधिवेशन नै अन्त्य गरेकी छिन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै सरकार अल्पमतमा परेपछि उनले संसद् छलेर सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेकी हुन् । मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नेपालको संविधान को धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेकी छिन् । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरे लगत्तै करिब ३५ दिनसम्म स्थगित रहेको प्रदेशसभा बैठक बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले केही प्रदेश ऐन र प्रदेशसभाको नियमावली संशोधनका लागि गत भदौ १ र २ गतेका लागि आह्वान गरेका थिए ।