भाद्र ७ गते २०७८

जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

काठमाडौं, ७ भादौ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ । यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७ सय मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए । गत फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।