भाद्र ७ गते २०७८

भीषण वर्षापछिको भेलले पोखरा महेन्द्रपुलको सडक भासियो

पोखरा, ७ भादौ । भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा ठूला ठूला खाल्डा परेको छ। आइतबार राती नै महेन्द्रपुलमा खाल्डो परेको थियो। सडक किनारमा खाल्डो परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ। पोखरामा आइतबार बेलुकी ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म ९१४ घण्टा० को अवधिमा २६० मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी सातबजेदेखि भीषण वर्षा सुरु भएको थियो। रातभर वर्षा हुँदा पोखरा सहरमा छताछुल्ल हुनेगरि भेलबाढी निम्तिएको उनले बताए। खानेपानी बिस्तारको क्रममा त्यो क्षेत्रमा पाइप बिच्छ्याउँदा खनिएको थियो। पाइप बिच्छाएपछि खाडल परेको ठाउँको १० मिटर दुरी ढलान हुन बाँकी थियो। दोहोरो पार्किङ रहेकोले त्यहाँ बेलैमा ढलान हुन पाएको थिएन। तल र माथि ढलान भएपनि १० मिटर जति बाँकी रहेकोमा त्यही ठाउँमा भेलले खोतल्दा भासिएको हो।