श्रावण ३१ गते २०७८

पोखरामा औद्यागिक र पर्यटन क्षेत्रका व्यवसायीलाई खोप

पोखरा,३१ साउन । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।