श्रावण ३० गते २०७८

गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने : मन्त्री थापा

पोखरा, ३० साउन ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले शनिबार पोखरा रंगशालामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री थापाले अबको केही समय पछि गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका हुन्।

खेलाडी मैत्री कानुन बनाउने बताएका मन्त्री थापाले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताए । उनले हालसालै जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गरे ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसंगतिविरुद्ध लोकतान्त्रिक खेलकुद कडारुपमा प्रस्तुत हुने बताए । उनले भने खेल क्षेत्रको एकाधिकार तोडेर खेलाडीमैत्री बनाउन लाग्ने बताए ।