जेठ ११ गते २०७८

कास्कीमा लकडाउन उल्लंघन गर्नेलाई ५ लाखसम्म वा १ वर्षसम्म कैद

पोखरा,११ जेठ । कास्कीमा लकडाउनमा कडाई गरिएको छ । लकडाउन उल्लंघन गरेमा वा अवरोध गरेको खण्डमा ठूलो मूल्य चुकाउनुपर्नेछ ।

जिल्ला प्रशासन कास्कीले आज एक सूचना जारी गर्दै कुनै व्यक्तिले आदेशको उल्लघंन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ । त्यस्तै, संघसंस्थाले उल्लङ्घन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्नेछ ।

बाधा अवरोध पुराएको खण्डमा ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद सजाय दिइनेछ । २ पाङ्ग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तोकिएको छ ।

नेपाल सरकारबाट कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कोही कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने सूचनामार्फत कास्की प्रशासनले जानकारी दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा व्यवस्थापन गर्न यस्तो कडाई गरिएको हो ।