वैशाख १० गते २०७८

धादिङ समाजको भित्तेपात्रो विमोचन


रामप्रसाद पाण्डे (राजु)
पोखरा, १० वैशाख
धादिङ–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले धादिङ समाजमा एकताको खाँचो औंल्याए ।

उनले सामाजिक एकताबाट नै समग्र धादिङवासीको हितमा काम गर्न सकिने भन्दै एकतामा नै बल रहेको र सोही मन्त्रलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिए ।
पोखरामा धादिङ समाज अग्रपंक्तिमा रहेको आफूले पाएको भन्दै उनले संस्थाको गरिमालाई सर्वोपरि ठानेर काम गर्न आग्रह गरे ।
धादिङ समाजलाई आफ्नै भवनको आवश्यकता रहेको महसूस आफूले पनि गरेको भन्दै अध्यक्ष क्षेत्रीले यसका लागि आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पूर्वअध्यक्ष नवराज दुवाडी, युवराज खतिवडा, निवर्तमान अध्यक्ष कृष्ण लम्साल, सल्लाहकार गोकर्ण अधिकारी, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबीता मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी र सञ्चालन महासचिव सरस्वती श्रेष्ठ सरुले गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ठ विज्ञापनदाता युवराज खतिवडा र खड्कबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।