चैत्र २० गते २०७७

धनुषामा दुइटा शव भेटिए, हत्या आशंकामा अनुसन्धान जारी

धनुषा, २० चैत । धनुषामा २४ घण्टाभित्र दुई पुरुषको शव फेला परेको छ। औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा फेला परेको हो।

घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नम्बर २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।परिवारजनका अनुसार उनी बिहीबार बिहान छिमेकी रामबली मण्डलको खेतमा चैते धान रोप्न गएका थिए। काम सकेर खेतबाट हिँडे पनि अबेर साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो। त्यस क्रममा उनको शव फेला परेको हो।

कसैले घाँटी थिचेर उनको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ। प्रहरी निरीक्षक यादवले शव पोस्टमार्टमपश्चात् मात्र केहि भन्न सकिने बताए। पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पाल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

यसअघि हिजो बिहीबार बिहान धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव फेला परेको थियो। ती पुरुषको कसैले हत्या गरेर फालेको हुन सक्ने स्थानयको आशंका छ।शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।