चैत्र १ गते २०७७

सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट बनेपछि एमालेतिर थपिँदै माओवादी पंक्ति

कैलाली,०१ चैत । साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन हुँदा केपी ओली समूहमा देखिएका प्रदेश सभा सदस्य महेशदत्त जोशी केही दिनअघि माओवादीमा फर्किएका थिए ।यता माओवादीबाटै प्रदेश सभा सदस्य हुँदै मन्त्री बनेका झपट बोहरा भने एमाले लाइनमा लागेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

ओली समूहमा रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेपछि प्रदेश अर्थमन्त्री बोहराले राजीनामा दिएका थिए । शुक्रवार रामबहादुर थापा बादल समूहबाट एमालेमा थपिएका २३ जना केन्द्रीय सदस्यहरूमा बोहरा पनि छन् ।माओवादी केन्द्रबाट एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाए लगत्तै शुक्रबार साँझ अनेरास्ववियू कैलाली तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका थिए ।

पूर्व मन्त्री बोहराले सम्मान कार्यक्रममा फेरि माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका थिए । ‘मैले त्यो बेला मन्त्री त त्यागेँ’ उनले भने, ‘अहिले सांसद पदको धेरै चिन्ता छैन ।’अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो समीकरणका खेलाडी लेखराज भट्ट बनेका छन् । माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सबै भन्दा विश्वास पात्रको रूपमा चिनिएका भट्ट अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बनेका छन् ।

नेकपा विवाद हुँदा ओलीलाई समर्थन गरेका भट्टले अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । उनी पनि अब माओवादीमा फर्किने बाटो बन्द भएको बताउँछन् ।वर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी पनि अहिले एमालेमा छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य हुँदै मन्त्री भएका हुन् । उनी पनि अब माओवादीमा फर्किन नसकिने बताउँछन् ।माओवादी केन्द्रबाट भने ठूलो सङ्ख्यामा एमालेमा जाने क्रम बढेको छ ।