फागुन २७ गते २०७७

जसपाका नेताहरु सरकार गठनबारे छलफल गर्न ओली भेट्न बालुवाटार जाने

काठमाडौं, २७ फागुन । नयाँ सरकार गठन गर्ने विषयमा संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी ९जसपा ले बिहीबार बेलुका एमालेसँग छलफल गर्ने भएको छ।

भावी सरकारबारे संसदमा रहेका तीनवटै दलसँग औपचारिक छलफल गर्ने निर्णयअनुसार साँझ ५ बजे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँग छलफल गर्न जसपा नेताहरु सामूहिक रुपमा बालुवाटार जान लागेका हुन्।प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता कायम रहेकै बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकले गरेको थियो।

उक्त बैठकले पाँच शीर्ष नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईलाई सरकारमा जानेबारे निर्णय गर्ने अधिकार दिएको थियो।पाँच नेताको बैठक बिहीबार दिँउसो पार्टी कार्यालयमा बसेपछि साँझ प्रधानमन्त्रीलाई भेट्न जाने निर्णग भएको नेता महतोले जानकारी दिए। उनले भने, ‘हामीले सबै पक्षसँग छलफल गर्ने नीतिअनुसार प्रधानमन्त्रीलाई भेट्न जान लागेका हौँ।’

ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपाभित्र मतान्तर छ। पूर्व राजपा पक्ष ओली नेतृत्वकै सरकारमा जानु पर्ने बताइ रहेको छ भने अर्को पक्ष ओलीलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा छ।