फागुन ८ गते २०७७

‘बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि’ हालत के होला ?- प्रधानमन्त्री ओली

काठमाडौँ,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा ओली समूहले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले अझै पनि दाहाल–नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरे । उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै हाल्न सकिन्न ।’ उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’ उनले सभामुख अग्नि सापकोटाले कीर्ते सनाखत गरेको समेत आरोप लगाए । उनले भने, ‘सभामुखको पदामा रहको व्यक्तिले यस्तो लज्जास्पद काम गर्नुहुन्छ रु’ उनले उपराष्ट्रपति नन्दबहादुर पुनले समेत चुनावको विरोध गर्दै सार्वजनिक कार्यक्रममा भाषण गरेर हिडेको समेत आरोप लगाए ।

उनले भने , ‘उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो ।’ उनले अब अस्थिरतातर्फ मुलकलाई फर्किन नदिने बताए । ‘हामी चुनावको तयारीमा छौं, चुनाव हुन्छ । कुनै भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भन्ने गरेका छन्, प्रतिनिधिसभा विघटन ओली तानाशाही हुनका लागि हो, चुनाव गर्नका लागि होइन, तर तपाईंहरु भ्रममा नपर्नुस् चुनाव हुन्छ ।’ दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले पदीय लोभकै लागि यो अवस्था उनीहरुले नै सिर्जना गरेको आरोप लगाए ।