माघ १९ गते २०७७

‘सिनेमा घर गोल्ड’ मा फिल्म हेर्दा १० प्रतिशत क्यासब्याक

पोखरा, १९ माघ । 
अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको ओटीटी प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ एपमा ५ सय तिरेर वर्षभरी फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइन्छ । 

‘सिनेमा घर गोल्ड’ मा उपलब्ध फिल्म वा अन्य भिडियो सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा दर्शकले १० प्रतिशत क्यासब्याक पाउने एपका सञ्चालक खगेन्द्रले बताए । यसले एपप्रति दर्शकको आकर्षण बढ्ने विश्वास लिइएको छ । एउटै टिकटमा १८ वटासम्म नेपाली फिल्म हेर्न मिल्ने सुविधा उपलब्ध गराएको एपमा फिल्मको पाइरेसी रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, मंगलम, बबी, ब्लाइन्ड रक्स, रोमियो एन्ड मुना, कोहलपुर एक्सप्रेस, सरौंतो, कागजपत्र’ फिल्म हेर्न सकिन्छ । ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा डाउनलोड गरी हेर्न सकिनेछ भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ ।