पौष २२ गते २०७७

भारतमा बर्ड फ्लू देखिए पछी नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता

काठमाडौं,२२ पुस ।

कोरोनाको महामारी भईरहदा भारतमा बर्ड फ्लू देखिएको छ । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले बताए ।

देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।