पौष २१ गते २०७७

पोखरा थिएटरमा तिन महिने अभिनय कक्षा शुरु

पोखरा, २१ पुष ।

बिश्व भर फैलिएको कोरोना भाईरसको प्रतक्ष्य असर नेपाली रंगमञ्चलाई पनि पर्यो । जसको कारण लामो समयसम्म नियमित गतिविधि हुन सकेन । सुनसान बनेको पोखराको रंगमञ्चलाई फेरि जगाउन पोखरा थिएटरले तिन महिने अभिनय कक्षा शुरु गरेको छ । अभिनय क्षेत्रमा रुचि भएका तथा रंग क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्तिहरुको लागि लक्षित गरेर यो कक्षा सञ्चालन गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।

अभिनय कक्षामा स्वास्थ्य मापदण्ड अपनाइएको उहाँको भनाई छ । पोखरा थिएटरले संचालन गरेको यो चौथो ब्याच हो । लाइफ स्किल, ड्रामा, थिएटर, एक्टिङ र प्रोडक्सन क्षेत्रका बारेमा विद्यार्थीले जान्ने मौका यस अभिनय कक्षाबाट प्राप्त गर्न सक्नेछन् । तीन महिनासम्म दैनिक ३ घण्टाको दरले हप्तामा ५ दिन कक्षा संचालन हुने छ ।

यस्तै पोखरा थिएटरले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि विद्यालय नाटक महोत्सव गर्ने तयारी गरेको छ । गत वर्ष आयोजित विद्यालय नाटक महोत्सवमा नयाँ पुस्ताले देखाएको सहभागिताका कारण दोस्रो संस्करणको विद्यालय नाटक महोत्सव गर्ने तयारी थालिएको थिएटर अध्यक्ष परिवर्तनले बताउनुभयो । यसका अलावा कोरोनाका कारण नाटक मञ्चन हुन नसकेर निरास भएका रंगकर्मी र रंगप्रेमीका लागि लक्षित गरेर छिटैनयाँ नाटक मञ्चनको लागि रिर्हसल समेत थाल्ने योजनामा थिएटर पुगेको छ ।