पौष १९ गते २०७७

राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन


पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।
उनको पार्थिव शरीर शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र क्षेत्र नं १ का सभापति विर्जमान गुरुङले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
श्रद्वाञ्जली अर्पणका लागि काँग्रेसका नेता तथा कार्यकर्ता, शुेभेच्छुक र आफन्त पुगेका थिए ।
उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । जेठा छोरा शंकर बराल हाल बर्दीयाको जिल्ला न्यायधिश, माईला छोरा भवसागर बराल काँग्रेस नेता र अर्का छोरा बुद्विराज बराल प्राइम बैंकको प्रबन्धक हुन् ।
यसैबीच, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।