पौष १७ गते २०७७

राष्ट्रिय सभाको बैठक पुस २३ गते बस्ने

काठमाण्डौ, १७ पुष ।

राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने गरी सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक सुरु भएको हो । यो बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले आफ्ना मन्तव्य राख्दै प्रतिनिधि सभा विघटन गरिनु दुःखद भएको बताएका छन् ।

राष्ट्रिय सभाको यो बैठकले संविधान सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको यस प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व। सांसदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारण गरिएको थियो ।